सिरहा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतलगायत १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले सार्वजनिक गरेको विवरण अनुसार, गाउँपालिकाको प्रशासकीय भवन निर्माणको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तर्जुमा, स्रोत सुनिश्चितता, वार्षिक योजना स्वीकृत नगर्ने, डिपिआरलाई खण्डीकरण गर्नेजस्ता प्रक्रियागत त्रुटिहरू भएको उल्लेख गरिएको छ। डिपिआर अनुसार अनुमानित लागत ६ करोड १८ लाख ६८ हजार ७६४ रुपैयाँ भए पनि बदनियतपूर्वक स्रोत सुनिश्चितता विना ३७ लाख ७५ हजार ४३६ रूपैयाँको लागत अनुमान तयार गरिएको आरोप छ।
२०७७ जेठ ३२ गते उपभोक्ता समितिसँग भवन निर्माणको लागि सम्झौता भएको थियो। अख्तियारका अनुसार ३७ लाख ७९ हजार १०६ रूपैयाँको कार्य सम्पन्न भएको देखाइए पनि प्राविधिक मूल्यांकन त्रुटिपूर्ण रहेको, श्रमदान, आयकर, बहाल कर, सामाजिक सुरक्षा कर कट्टा गरेर ३४ लाख ३९ हजार १८९ रूपैयाँ भुक्तानी गरिएको र उक्त भवन हाल उपयोगविहीन अवस्थामा रहेको छ।
भ्रष्टाचार अभियोगमा मुछिएका अन्य सरकारी कर्मचारीहरूमध्ये इञ्जिनियर कृष्णा साह, सब–इञ्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, योजना शाखा प्रमुख रमेशकुमार निधि, जिन्सी प्रमुख सञ्जयप्रसाद यादव, वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष मदन यादव, वडा नम्बर ५ का तत्कालीन वडाध्यक्ष मनोजकुमार यादव, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दिपेन्द्र कुमार यादव र कोषाध्यक्ष कोशीलादेवी यादव रहेका छन्।
त्यस्तै, मधेश प्रदेश सरकारको सांसद् विकास अनुदानबाट रामजाकी दलित आधारभूत विद्यालय, मझौराको अधुरो काम पूरा गर्नका लागि विनियोजित रकम हिनामिना गरेको आरोपमा समेत आयोगले मुद्दा दायर गरेको हो।
यससम्बन्धी मुद्दामा आयोगले १४ लाख ५१ हजार ५५१ रुपैयाँ बराबरको बिगो दाबी गर्दै तत्कालीन अध्यक्ष यादव, उपाध्यक्ष शोभाकुमारी, प्रमुख प्रशासकीय अधिकृत कुसियैत, लेखापाल आचार्य, इञ्जिनियर साह, सव–इञ्जिनियर सन्तोषकुमार यादवसहित उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाहविरुद्ध पनि कारबाहीको मागसहित मुद्दा दायर गरिएको हो।
वडा नं २ का तत्कालीन अध्यक्ष खुसीलाल साह समेत थप प्रतिवादीका रूपमा मुद्दामा समावेश छन्। आयोगले सबै प्रतिवादीहरूविरुद्ध बिगो असुल उपर गर्नुका साथै कैद सजाय र जरिवाना समेत माग गर्दै विशेष अदालतमा मुद्दा पेस गरेको हो।