‘रुपिका’ उपन्यास परिचर्चासहित उपन्यासकार घिमिरे सम्मानित

लालबन्दी । नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आयोजित सुप्रभात काव्य गोष्ठीमा उपन्यासकार केशव घिमिरेको उपन्यास ‘रुपिका’ माथि परिचर्चासहित उनलाई सम्मान गरिएको छ।

कार्यक्रमको अध्यक्षता समाजसेवी, साहित्यकार, कुशल प्रशासक तथा प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्राध्यापक डाक्टर रमेश प्रसाद भट्टराईको उपस्थिति रहेको थियो। कार्यक्रममा उपन्यास ूरुपिकाू माथि डाक्टर भगवान चन्द्र ज्ञवालीले परिचर्चा गरेका थिए। परिचर्चाकारका रूपमा डा। ज्ञवाली, स्रष्टा विशेषमा प्राज्ञ चेतनाथ धमला तथा कृतिकार स्वयं उपन्यासकार केशव घिमिरे थिए।

समीक्षक ज्ञवालीले रुपिका उपन्यास प्रेम विषयमा आधारित भए पनि समाजका विविध पक्षको गहन विश्लेषण गरिएको उल्लेख गरे। उनले भने, उपन्यासको भाषा प्रवाहमय छ। कतैकतै दार्शनिक विचारहरू भेटिन्छन् भने व्यवहारवादी चिन्तन पनि व्यापक रूपमा समेटिएको छ। साथै, उनले ग्रामीण समुदायमा व्याप्त विकृति, रूढीवाद, परम्परा र विसङ्गतिहरूविरुद्ध उपन्यासले औंला ठड्याएको बताएका छन्।

ज्ञवालीका अनुसार उपन्यासमा गाउँले जीवनका बाधा, अवरोध र सामाजिक डरले मानिस आफ्नो चाहना अनुसार जीवन बाँच्न नसकेको यथार्थ उजागर गरिएको छ। सिन्धुली जिल्लाको कमला खोज क्षेत्र, महाभारत पर्वत, कमला नदी, चारकोसे झाडी, चाडपर्व, कृषि प्रणाली र जीवनशैलीको सजीव चित्रण उपन्यासमा पाइन्छ।

उपन्यासले जातीय सीमाभन्दा माथि उठेर विभेदमुक्त, प्रतिभाशाली र क्षमतायुक्त समाज निर्माणको परिकल्पना गरेको छ। उपन्यासले समाजमा विद्यमान हरेक किसिमका व्यथाविरुद्ध आवाज उठाएको छ। काजीबाको मृत्यु प्रसङ्गमा अलिकति आश्चर्य भए ता पनि उपन्यासले आफ्नै लयमा कथा अघि बढाएको विश्लेषण गरिएको छ।

समीक्षकले थपे, ‘उपन्यास संयोगान्त भएकाले द्वन्द्वको गहिराइ कम भए पनि सरल र सहज भाषामा लेखिएकाले सबैले सजिलै पढ्न र बुझ्न सक्ने खालको छ। शिक्षित मानिसहरूसमेत कुरीति र कुप्रथाले जीवनमा कति अल्पज्ञानी छन् भन्ने यथार्थ उपन्यासले चित्रण गरेको छ।’

बिहे प्रसङ्गमार्फत उपन्यासले समाजमा परिवर्तनको सन्देश दिएको र छोरीहरूले आफ्नो इच्छाअनुसार निर्णय गर्नुपर्ने सन्देश प्रवाह गरेको समीक्षकले बताए। उपन्यासले शिक्षालाई सर्वोपरि मानेर जीवनका लागि अनिवार्य तत्वका रूपमा प्रस्तुत गरेको पनि समीक्षा गरिएको छ। उपन्यासको मध्यभागतिर क्रान्तिका कुरा उठाइएकोले ‘रुपिका’ केवल प्रेमप्रधान नभई सामाजिक उपन्यास पनि भएको निष्कर्ष निकालिएको छ।

समीक्षक ज्ञवालीले उपन्यासकार केशव घिमिरेको आगामी दिनमा अझ सशक्त कृतिहरू आउने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए।

काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर र काठमाडौँका अन्य अग्रज तथा वरिष्ठ साहित्यकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रम सफलता साथ सम्पन्न भएको थियो।

सम्बन्धित समाचार

सबै