मधेशको विकासमा प्रदेश सरकार गम्भीर छ – मुख्यमन्त्री सिंह

लालबन्दी : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशको विकास र समृद्धिको लागि आफ्नो सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन्।

आज जनकपुरमा आयोजित ‘एक निर्वाचन क्षेत्र, एक सडक’ (दोस्रो चरण) शिलान्यास कार्यक्रममा उनले संघीयताको रक्षा गर्न मधेश सधैं अगाडि रहेको र यहाँका जनताले सधैं संघीयताको पक्ष लिएको स्पष्ट पारेका छन्।

मुख्यमन्त्री सिंहले सीमित स्रोतसाधन र बजेटबीच पनि प्रदेश सरकारले रु १२ अर्ब ७० करोडको लागतमा मधेशका ६४ वटा सडक निर्माण सुरु गरेको जानकारी दिएका छन्। यी सडक निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुने पनि उनले दाबी गरे।

त्यस्तै, उनले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिएको उल्लेख गर्दै गिट्टी–बालुवाको तस्करी नियन्त्रण, साथै प्रदेशमा कानुनविपरीत सञ्चालनमा रहेका नर्सिङ होम, औषधि पसल र निजी अस्पतालको अनुगमन गरी कारबाही भइरहेको बताएका छन्।

कार्यक्रममा सहभागी भएका मधेश प्रदेशका पूर्वमुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आफूले सुरु गरेको ‘बेटी बचाउ, बेटी पढाउ’ र ‘छोरी बीमा कार्यक्रम’लाई निरन्तरता दिनुपर्ने बताएका छन्। साथै, उनले विगतका सरकारहरूले बनाएको सुशासन, पारदर्शिता र विकास योजनामा अहिलेको सरकारले कुनै भेदभाव नगरी अघि बढाउनु पर्ने सुझाव पनि दिएका छन्।

कार्यक्रमको अध्यक्षता मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले गरेका थिए।

सम्बन्धित समाचार

सबै