बरहथवा : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाहीका एकसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने सर्लाहीको बरहथवा नगरपालिका-१ घर भएकी ३४ वर्षीया रूपी माया र काठमाडौं महानगरपालिका-१६ बस्ने लमजुङको दोर्दी गाउँपालिका–५ घर भएका २६ वर्षीय दीपेन्द्र गुरुङ छन् ।
पक्राउ परेकामध्ये दीपेन्द्रले बोसनिया पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ७ लाख रुपैयाँ र रूपीले मलेसिया पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ५ लाख ५७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका प्रहरीको भनाइ छ ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दीपेन्द्रलाई काठमाडौं महानगरपालिका–१६ बाट आइतबार र रूपीलाई काठमाडौँ महानगरपालिका–१५ बाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार पठाइएको प्रहरीले जनाएको छ ।