गोलबजार : सिरहाको गोलबजारमा एक किशोरीले आफ्नै प्रेमी भनिएको युवकमाथि छुरा प्रहार गरेकी छन् ।
छुरा प्रहारबाट गोलबजार नगरपालिका–१३ घर भई वडा नम्बर ४ बस्ने २४ वर्षीय अशोक कुमार महतो गम्भीर घाइते भएका हुन् । युवकको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको छ ।
छुरा प्रहार गरी भाग्ने क्रममा घाइते भएकी किशोरीको स्थानीय लाइफ लङ्ग अस्पतालमा उपचार गराइएको र पछि जिल्ला प्रहरी कार्यालय सिरहा लगिएको छ ।
स्थानीयका अनुसार पछिल्ला केही दिनदेखि किशोरी युवकको कोठामा पुग्ने गर्थिन् । बिहीबार पनि किशोरी युवकको कोठामा पुगेकी थिइन् । र उनले केही बेरपछि छुरा प्रहार गरेकी स्थानीयले बताए।
किशोरीमाथि जबरजस्ती गर्न खोजेपछि उनले आफ्नो बचाउका लागि छुरा प्रहार गरेको भने पनि अहिलेसम्म कारण भने खुल्न सकेको छैन् । किशोरीले युवकको डेरामा रहेको तरकारी काट्ने चक्कुले प्रहार गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले घटनाको थप अनुसन्धान भईरहेको जानकारी दिए।