सर्लाही : नेपाल पत्रकार महासंघका सदस्य तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बख्तियार अलिमाथि गरिएको अनावश्यक हस्तक्षेपप्रति प्रेस चौतारी नेपालले गम्भीर आपत्ति जनाएको छ।
प्रेस चौतारीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अखिलले ‘स्वास्थ्य कार्यालय सर्लाहीमा अख्तियारको छापा’ शीर्षकको समाचार प्रकाशन गरेका कारण उक्त समाचार हटाउन दबाब दिइएको र यसलाई प्रेस तथा पत्रकारको स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेपको रुपमा लिएको स्पष्ट पारेको छ। संगठनले यस्ता कार्यलाई भर्त्सना गर्दै निन्दा गरेको छ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ, ‘समाचार लेख्ने र प्रकाशन गर्ने श्रमजीवी पत्रकारको संवैधानिक अधिकारमाथि भएको हस्तक्षेपले नगर पत्रकारलाई निर्भीक रुपमा समाचार संकलनको वातावरण बनाउने कार्यमा अवरोध पुर्याएको छ।’
साथै, विज्ञप्तिमा दोषी उपर कडा कारबाही गर्न र सम्बन्धित निकायसँग यस्ता घटना दोहोरिन नदिन विशेष पहल गर्न माग गरिएको छ।
प्रेस चौतारीले पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सरोकारवालालाई ध्यानाकर्षण गराउँदै यस्तो घटना दोहोरिन नदिन
आवश्यक वातावरण बनाउन जोड दिएको छ।
स्वास्थ्य कार्यालय सर्लाहीमा जेठ ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म छापा मारी दर्जनौं महत्त्वपूर्ण फाइलहरू नियन्त्रणमा लिएको थियो।
आयोगको छानबिन टोलीले आर्थिक वर्ष २०८०/०८१ र चालु वर्ष २०८१/०८२ का सबै योजनाहरू तथा कार्यक्रमसँग सम्बन्धित फाइलहरू जफत गरेको थियो। उक्त विषयमा समाचार लेखेको भन्दै अलिमाथी दुर्ववहार भएको भन्दै चौतारीले मंगलबार एक विज्ञप्तिमार्फत भर्त्सना गरेको हो।
