एसपी थर्काउने जसपा नेपालका नेता पक्राउ गर्न ठूलो संख्यामा खटाइयो प्रहरी

मलंगवा : जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिन जिल्लाभर एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, जिल्लाभित्रका सम्पूर्ण प्रहरी युनिटलाई सतर्क र उच्च निगरानीमा राखिएको छ। जहाँ देखिए पनि तत्काल पक्राउ गर्न निर्देशन दिइएको छ छ ।

नेता यादवको मोबाइल ट्र्याकिङका साथै मोबाइल लोकेसन पत्ता लगाउन केन्द्रसित समन्वय भइरहेको प्रहरीले जनाएको छ।

सम्भावित स्थानहरूमा निगरानी तीव्र पारिएको छ भने विभिन्न युनिटबाट थप प्रहरी जिल्ला प्रहरी कार्यालयमा तयारी अवस्थामा राखिएको छ।

बिहीबार राति नेता यादव र सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काबीचको गालीगलौजको अडियो सार्वजनिक भएपछि अवस्था चर्किएको थियो। त्यसै रात नेता यादवलाई पक्राउ गर्न गएका प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो ।

प्रहरीका अनुसार, यादवका समर्थकहरूले सरकारी गाडीमा तोडफोड, प्रहरीको काममा अवरोध र सार्वजनिक बाटो अवरुद्ध पारेका छन्। यिनै घटनाका आधारमा प्रहरीको प्रतिवेदनपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

सम्बन्धित समाचार

सबै