अशोक यादवको पक्राउ विरोधमा मलंगलवामा जसपाको प्रदर्शन

गोडैता : सर्लाहीको प्रहरी प्रशासनलाई नै चुनौती दिँदै एसपीलाई थर्काउने जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवमाथि पक्राउ पुर्जी जारी गरेपछि सर्लाहीको सदरमुकाम मलंगवामा प्रदर्शन गरिएको छ।

पक्राउ पुर्जीको विरोधमा जसपा सर्लाहीले शनिबार मलंगवामा विशाल प्रदर्शन निकालेको हो ।

जसपा सर्लाहीका जिल्ला अध्यक्ष शम्भु प्रसाद यादवको नेतृत्वमा भएको प्रदर्शनले अध्यक्ष अशोक यादवमाथि लगाइएको मुद्दा खारेज गर्न माग गरेको छ।

प्रहरीले नेता यादवलाई पक्राउ गर्न करिब एक हजार सुरक्षाकर्मी परिचालन गरे पनि शनिबार साँझसम्म उनी पक्राउ परेका छैनन्।

विवाद गत बिहीबार राति पूर्वाधार विकास कार्यालय, मलंगवाबाट सुरु भएको थियो। रातिको समयमा चेक काटिएको विषयमा जसपा नेता यादव र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काबीच चर्को विवाद भएको थियो।

नेता यादवले एसपी खड्कामाथि पूर्वाधार कार्यालयका प्रमुख विजय यादवसँग मिलेर कमिसन लिएको र राति सुरक्षा दिएर चेक काट्न सहयोग गरेको आरोप लगाएका थिए।

आर्थिक वर्षको अन्त्यमा कामको चापले गर्दा राति पनि काम गर्नुपरेको कार्यालय प्रमुख यादवको भनाइ छ। तर, जसपा नेता यादवले भने दिउँसो कार्यालय बन्द गर्ने र राति कमिसन दिनेलाई मात्र चेक काट्ने गरेको दाबी गरेका छन्।

एसपी खड्का र नेता यादवबीचको विवाद गालीगलौजमा परिणत भएपछि प्रहरी टोली यादवलाई पक्राउ गर्न उनको सलेमपुरस्थित निवासमा पुगेको थियो। प्रहरी पुगेपछि स्थानीयले विरोध गर्दै प्रहरीको गाडीमा तोडफोड गरेका थिए।

त्यसलगत्तै, जिल्ला प्रहरी कार्यालय सर्लाहीले नेता यादवमाथि सरकारी सम्पत्तिमा क्षति पुर्‍याएको र सरकारी कामकाजमा बाधा पुर्‍याएको आरोपमा मुद्दा दर्ता गरी अदालतबाट पक्राउ पुर्जी जारी गराएको हो।

यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीले नेता यादव विभिन्न आपराधिक गतिविधिमा पहिलेदेखि नै संलग्न रहेको दाबी गरेको छ। प्रहरीका अनुसार यादवमाथि २०५७ सालदेखि हालसम्म ज्यान मार्ने उद्योग, चोरी, अभद्र व्यवहार र दुर्व्यवहार जस्ता आधा दर्जनभन्दा बढी मुद्दाहरू चलेका छन्।

सम्बन्धित समाचार

सबै