लालबन्दी : प्रहरीको वान्टेड सूचीमा रहेका जसपा मधेस प्रदेशका अध्यक्ष फेसबुकमार्फत लाइभमा आएका छन् । अध्यक्ष अशोक यादवले उक्त लाइमा आफू नभागेको र छोराको उपचारमा रहेको बताएका छन् ।
उनले आफूविरुद्ध झुटा आरोप लगाइएको भन्दै गम्भीर आपत्तिसमेत जनाएका छन् । प्रहरीले डाँका शैलीमा आफ्नो घरमा पुगेर छोरामाथि कुटपिट गरी घाइते बनाएपछि आफू छोराको उपचारमा रहेको उनले जानकारी गराएका हुन् ।
सञ्चारमाध्यममा आफू फरार भएको भनेर आएका समाचारको खण्डन समेत उनले गरेका छन् । ‘जनताको लागि आवाज उठाउँदा राज्यले अपराधी ठहर गर्न खोजेको उनको आरोप छ । सोही अनुसार आफू विरुद्ध मुद्दा दर्ता गरिएको समेत नेता यादवको भनाइ छ ।
उनले भने, ‘मैले कुनै अपराध गरेको छैन, म त निमुखा, शोषित, पीडित र विपन्न वर्गका लागि आवाज उठाइरहेको छु । जिल्लामा भइरहेका बेथिति, भ्रष्टाचार र लुटतन्त्रविरुद्ध आवाज उठाउँदा राज्यले मलाई अपराधी ठान्छ भने म सय वटा मुद्दा खेप्न तयार छु । तर म जनताको पक्षमा बोल्न कहिल्यै रोकिने वाला छैन ।’
उनले प्रहरीको कुटपिटबाट आफ्नो छोराको गर्दनको नसा च्यातिएको समेत बताएका छन् । उनले भने, ‘ममाथि अनावश्यक हिसाबले मुद्दा दर्ता गरिएको छ, त्यसबाट म डराएको छैन । म चाँडै आउँदैछु सर्लाहीमा ।’
उनले सर्वसाधारणलाई आन्दोलनमा आउन आग्रह गर्दै एसपीलाई आफूले पहिले गालीगलौज नगरेको समेत प्रस्टोक्ति दिए । अनावश्यक हिसाबले मुद्दा दर्ता गरे फसाउन खोजे पनि आफू त्यसबाट डराउने मान्छे नभएको उनले चेतावनी दिए ।
यादवमाथि दुई वटा मुद्दा दर्ता भएको छ । सार्वजनिक सेवामा रोकावट र राजनीतिक उपद्रो कसुर अन्तर्गतका दुई वटा मुद्दामा अदालतले उनलाई पक्राउ पुर्जी जारी गरेको हो ।
बिहीबार राति सर्लाहीका प्रहरी प्रमुख योगेन्द्रकुमार खड्का र अध्यक्ष यादवबिच गाली गलौज भएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।