लालबन्दी : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवले मधेस आज नभए भोलि अलग हुने अभिव्यक्ति दिएका छन् । नेपाल प्रहरीको खोजी सूचीमा रहेका यादवले एक भिडियो सन्देश जारी गर्दै सो कुरा बताएका हुन् ।
सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेको अडियो भाइरल भएपछि यादव फरार भएका छन् । मधेस प्रदेश प्रहरीका प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि यादवको तीव्र रूपमा खोजीकार्य भइरहेको छ ।
प्रहरी स्रोतका अनुसार यादव भारततर्फ फरार भइसकेका छन् । यद्यपि, आइतबार उनले सामाजिक सञ्जालमार्फत आफू फरार नभएको र छोराको उपचारको लागि आएको दाबी गरेका थिए । सोमबार उनले अर्को भिडियो सन्देश जारी गरेका छन् । उनले यसमा बिहारका सम्पूर्ण जनता, बिहारका सबै राजनीतिक दलका जनप्रतिनिधिहरू, नेतागण, बिहारका सम्पूर्ण प्रहरी अधिकारी र प्रहरीकर्मी प्रशासनलाई अपिल गरेका छन् ।
उनले भनेका छन्– ‘भारतमा नेपालका आन्दोलनकारीहरूलाई शरण मिल्दै आएको छ। सुरुदेखि नै हरेक विभिन्न किसिमका आन्दोलन भए। र आन्दोलनकारी कोही अपराधी वा हत्यारा होइनन्। तर स्थानीय स्तरमा सर्लाहीका एसपी र डीएसपी गुण्डागर्दी गर्दै भारतीय सेवा क्षेत्रमा, सीमावर्ती इलाकाका मानिसहरूलाई गलत आरोप लगाएर हामीले गलत काम गर्यौँ, हाम्रा आफन्तहरू‘ मेरा आफन्तका घरमा गएर छापा मारे। र छापा मारिरहेका छन् अहिलेसम्म। अतः म बिहार सरकारसँग आग्रह एवं बिहारका सबै मानिसहरू तथा जनप्रतिनिधि र प्रहरी प्रशासनसँग आग्रह गर्दछु कि यो विदेशको मामला हो र राजनीतिक मामला हो। र हामीहरू आन्दोलनको लडाइँ अहिलेसम्म लडिरहेका छौँ। जनताको लडाइँ लडिरहेका छौँ। भारतमा हाम्रो शरण स्थल छ। भारतको हामीलाई समर्थन मिल्नुपर्छ, मिलेको छ।’
‘अशोक यादवको परिवारलाई जुन बिहारमा पुलिसवालाहरू, सीतामढीका एसपीसँग, बिहारका सिनियर पुलिस अधिकारी सबैलाई आग्रह गर्दछु कि यस प्रकारको समस्या नदिनुहोस्। नेपालका एसपीको भनाइमा कुनै पनि कदम नउठाउनुहोस्,’ उनले आग्रह गरेका छन् ।
उनले आफू रहे पनि नरहे पनि एक दिन मधेस नेपालबाट अलग हुने पनि भिडियोमा दाबी गरेका छन् । उनले अब आउने दिनमा विद्रोह हुने सम्भावना रहेको उनको भनाई छ ।
यादवले भनेका छन्, ‘हामीले धेरै पटक के सोचेका थियौँ कि यो देशबाट मधेस अलग हुनुपर्छ। तर स्वाभिमानका लागि हामी नेपालको, नेपाल मेरो देश हो, म त्यो देशको नागरिक हुँ, त्यो पनि हामी गर्व गर्थ्यौँ। तर यो दमन शोषणले हामीलाई भित्रबाट धेरै ठुलो अब आउने दिनमा विद्रोह हुने सम्भावना छ। हाम्रा सीके राउतजीले बिगुल फुकेका थिए, कि स्वराज मधेस अलग होस्। सही कुरा हो। मधेस आज नभए भोलि अलग हुनेछ। म रहूँ वा नरहूँ। म रहूँ वा नरहूँ, तर मधेसमा आउने जुन सन्तति छ, आउने जुन पुस्ता छ, यो नस्लवादी जुन चिन्तन-मनन गर्ने सोच राख्ने जुन मानिसहरू छन्, त्यसको अन्त्य हुनेछ।’