मधेश सरकारको बजेटबारे आलोचना

धनुषा : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटप्रति आलोचना गरिएको छ ।

‘राइट्स क्लिनिक’ को आयोजनामा आज जनकपुरधाममा आयोजित ‘बजेट संवाद’ कार्यक्रममा सरोकार भएकाहरूले सरकारले ल्याएको बजेट असन्तुलित मात्र नभइ अव्यवहारिक रहेको टिप्पणी गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी मधेस प्रदेश संसदीय दलका नेता कञ्चन विच्छाले बजेट जनमुखी नभएको बताए । शिक्षा सबैका लागि पहुँचयोग्य नहुँदासम्म दिगो विकास सम्भव नहुने विचार व्यक्त गरे।

नेपाल सङ्घीय समाजवादी पार्टी, मधेस प्रदेश संसदीय दलका नेता एवं पूर्वमन्त्री विमला अन्सारीले बजेट असमान रूपमा विनियोजन भएको भन्दै यसले परिणाम दिन नसक्ने बताए।

उहाँले दलित महिला तथा सीमान्तकृत समुदायको पक्षमा छुट्टै कार्यक्रम नराखिएकोप्रति असन्तोष जनाउँदै भने, “जनसङ्ख्याको अनुपातमा बजेट छुट्याइनुपर्छ, तर त्यस्तो गरिएन । यो दुःखद हो ।”

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामसरोज यादवले आफ्नो पार्टी सरकारमा भए पनि जनताको भावनाविपरीत ल्याइएको बजेट जस्ताको तस्तै पारित गर्न नसकिने स्पष्ट पारे।

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता रामअशिष यादवले बजेट घाटामुखी मात्र नभइ पूर्णतः असन्तुलित रहेको भन्दै पुनर्लेखन गरेर सुधार गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रदेशसभा सदस्यहरू जवाहर कुशवाहा, कनिस पटेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कर्ण, अनौपचारिक क्षेत्र सेवा केन्द्रका प्रदेश संयोजक राजु पासवानलगायतले बजेटबारे धारणा राखेका थिए ।

राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश प्रमुख बुद्धनारायण सहनीले आफ्नो प्रस्तुतीकरण गरेका थिए।

सम्बन्धित समाचार

सबै