जनकपुर–अयोध्यालाई धार्मिक पर्यटनसँग जोड्नुपर्छ : मुख्यमन्त्री सिंह

धनकौल : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरलाई अयोध्यासँगको धार्मिक पर्यटनसँग जोड्न सके यहाँको विकासले एउटा महत्त्वपूर्ण फड्को लिनसक्ने बताएका छन् ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशको ‘घुमौँ मधेस, बुझौँ मधेस’ प्रचार अभियानको समापन कार्यक्रमलाई आज जनकपुरमा सम्बोधन गर्दै सिंहले सङ्घीय सरकारले यसको पहलकदमी लिनपर्ने उल्लेख गरे ।

‘सीता र राम छुट्याउनै नसकिने विश्वास हुन्, रामको जन्मभूमि र सीताको जन्मभूमि महत्त्वका दृष्टिले फरक हुन सक्दैनन्’, सिंहले भने, ‘तर नयाँ राममन्दिर निर्माणपछि अयोध्यामा बढेको मान्छेकोे आस्थालाई हामीले जनकपुर डोर्‍याउन सकेका छैनौँ ।’ राम दर्शनका लागि अयोध्या पुग्नेहरूमा जनकपुर पुगेर सीता दर्शन नगरेसम्म यात्राले पूर्णता नपाउने कुरा प्रचार र दुई देशबीचको आपसी विश्वासबाट जगाउनसके यहाँको धार्मिक पर्यटनमा ठूलो उपलब्धि हुने उनको भनाइ छ ।

राम दर्शनका लागि अयोध्यामा पुगेका केही प्रतिशतमात्र जनकपुर जोडिँदा पनि यहाँको पर्यटन प्रवर्द्धनमा निकै सघाउ पुग्ने मुख्यमन्त्री सिंहको विश्वास छ । जनकपुर आइपुग्ने पर्यटकलाई विस्तारै मधेसका अन्य धार्मिकस्थलसँग जोड्दै लान सकिने सम्भावना हुने उनले बताए । यो सङ्घीय सरकारको प्रयत्नबाट हुनपर्ने उनको जोड छ । ‘देश समृद्ध भए प्रदेश बलियो भइहाल्छ नि !’, उनको भनाइ छ । यसका लागि आफूले केन्द्र सरकारसम्म निरन्तर कुरा पुर्‍याइरहेको सिंहले बताए ।

महासङ्घले गत वर्ष २०८१ साल जेठ ५ गते बाराबाट सुरू गरेको ‘घुमौँ मधेस, बुझौँ मधेस’ प्रचार अभियानको शृङ्खला आठै जिल्लामा सकेर आज समापन गरेको हो । यस अभियानको क्रममा आठ वटै जिल्लाका धार्मिक, पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक पर्यटनका सम्भावना पहिचान गर्दै बनाइएको वृत्तचित्रप्रति महासङ्घले मुख्यमन्त्रीलाई हस्तान्तरण गरेको छ ।

अभियानको पहिलो चरणको समापनसँगै अब सम्भावित ठाउँमा तीनै तहका सरकारसँगको समन्वयमा अघिल्ला काममा भागीदारी लिएर काममा जाने महासङ्घले प्रतिबद्धता जनाएको छ ।
‘महासङ्घले तयार गरेको ‘घुमौँ मधेस, बुझौँ मधेस’ को अभियान र अवधारणालाई मधेस सरकारले कार्यक्रममा समावेस गरेर अपनत्व लिएपछि आफूहरू उत्साहित भएको छ’, महासङ्घका अध्यक्ष हीरालाल गौतमले बताए ।

समापन कार्यक्रममा मुख्यमन्त्री सिंहले एक वर्षसम्म यो अभियानलाई प्रदेशका आठै जिल्लामा पुर्‍याएर मधेस चिनाउन र बुझाउन योगदान दिनेहरूलाई कदरपत्र प्रदान गर्दै सम्मान गरे ।

सम्बन्धित समाचार

सबै