ईश्वरपुर : सर्लाहीको ईश्वरपुर नगरपालिकामा आज बिहान पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी भएको छ। दुर्घटनामा परी एक सैनिकसहित पाँच जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ईश्वरपुर नगरपालिका-१२ र १३ को सिमानामा पर्ने बाँके चोकस्थित रेल्वे ट्रयाक नजिक बिहान करिब १०:५० बजे उक्त दुर्घटना भएको हो। श्रीनगरबाट बाँके चोकतर्फ जाँदै गरेको प्रदेश ०३(०२८ प २१९१ नम्बरको एफजेट मोटरसाइकल र बयलबासबाट महोत्तरीतर्फ जाँदै गरेको बा ८ च ६५ नम्बरको पिकअप भ्यान एकआपसमा ठोक्किएका थिए।
ठक्करलगत्तै दुवै सवारी साधनमा आगो लागेको थियो, जसकारण पिकअपको अगाडिको भाग र मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
दुर्घटनामा मोटरसाइकल चालक नेपाली सेनामा कार्यरत २३ वर्षीय चन्द्रदेव धामी गम्भीर घाइते भएका छन्। उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। उनी भगवती दल गण इटहरीमा कार्यरत सैनिक हुन्।
त्यस्तै, मोटरसाइकलमा सवार २२ वर्षीय प्रशेस चौधरी (नेपाली सेना) र २१ वर्षीय अमित चौधरीलाई पनि सामान्य चोटपटक लागेको छ।
पिकअप चालक ४० वर्षीय रामएकबाल महतो र सवार ६५ वर्षीय लेखनाथ उपाध्यायको अवस्था मध्यम रहेको छ। उनीहरूको हात, खुट्टा र टाउकोमा चोट लागेको छ।
घाइते सबैलाई तत्कालै उद्धार गरी उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पतालमा पठाइएको छ। घटनाको खबर पाउनासाथ फुलजोर प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र गिरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले दुवै क्षतिग्रस्त सवारी साधनलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।