महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक राजीनामा दिएका छन् ।
मंगलबार नगरपालिकाको प्रशासन शाखामा पालिकाका ३१ वटै विद्यालयका प्रधानाध्यापकहरूले एकैपटक राजीनामा बुझाएका हुन् । साउन १ गतेदेखि लागु हुनेगरी राजीनामा दिइएको उनीहरूको राजीनामा पत्रमा उल्लेख छ ।
आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पनि नगरपालिकाको कार्यालयले अतिआवश्यक रकमहरू निकासा नगर्दा विद्यालय सञ्चालन गर्न सकस भएको उनीहरूले बताएका छन् । जसका कारण बाध्य भएपछि राजीनामा दिनुपरेको एक प्रधानाध्यापकले जानकारी दिए ।
दिवा खाजा, पाठ्यपुस्तक, नन स्यालरी, नगर शिक्षक र नगर अनुदान शिक्षकको तलब निकासा, सर्शत पुँजीगत तथा शैक्षिक अनुदान शीर्षकको रकमसमेत अति न्यून निकासा भएको र पटकपटक तागेता गर्दासमेत आलटाल गरेपछि बाध्य भई राजीनामा दिनुपरेको सामूहिक राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
उनीहरूले नगरपालिकाको प्रधानाध्यापकहरूको बैठकमा भएका निर्णयहरू पनि राजीनामासँगै बुझाएका छन् ।

