लालबन्दी । अमेरिका पठाउने प्रलोभन देखाई विद्यार्थीहरूसँग करोडौं ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये एक जना सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसका स्ववियु सभापतिसमेत रहेको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साउन ७ गते जारी गरेको विज्ञप्तिअनुसार पक्राउ पर्नेहरूमा काभ्रे बनेपाका २३ वर्षीय विशाल घिमिरे, सर्लाही लालबन्दीका २५ वर्षीय समीर सिंह र सर्लाही कबिलासीका २६ वर्षीय अशोक कुमार यादव रहेका छन् ।
उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा पठाइएको छ।
प्रहरीका अनुसार यस गिरोहले अमेरिका जाने प्रयोजनका लागि भिसा प्रक्रियामा रहेका विद्यार्थीहरूलाई लक्षित गरी ठगी गर्ने गरेको थियो।
उनीहरूले भिसाका लागि बैंक ब्यालेन्स देखाउन एक करोड बीस लाख आवश्यक पर्ने भन्दै पीडितहरूलाई विश्वासमा पार्ने गरेका आरोप छ। त्यसपछि उक्त रकम आफ्नो खातामा जम्मा गर्न लगाउने र रकम जम्मा भएपछि फिर्ता नगरी अन्य व्यक्तिको खातामा रकमान्तर गरी सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये समीर सिंह सर्लाहीको लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति हुन्।
उनी नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू र नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सभापतिमा निर्वाचित भएका थिए।
यसअघि गत वैशाख १८ गते विशाल घिमिरेले विद्यार्थी भिसामा अमेरिका पठाइदिन्छु भनी ६१ लाख ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। सोही जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा गिरोह नै संलग्न रहेको तथ्य खुलेको हो।
पीडितको उजुरीका आधारमा प्रहरीले मिति २०८१ साउन ६ गते उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी गरिरहेको र थप अनुसन्धान जारी रहेको जनाएको छ। पछिल्लो समय वैदेशिक रोजगारी र अध्ययनका नाममा हुने ठगीका घटनाहरू बढ्दै गएका छन्।