सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा विद्यालयको बसले किच्दा एक बालिकाको मृत्यु भएको छ ।
सोमबार अपराह्न विद्यालय छुट्टीपछि घर फर्कने क्रममा बसबाट ओर्लिएकी ५ वर्षीया आशिका महतोलाई सोही बसको पछाडिको चक्काले किचेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ईश्वरपुर नगरपालिका–१ चौलिखास्थित टेमुको एकेडेमी स्कुलको मप्र ०३–००१ क २५४२ नम्बरको बसले विद्यार्थीहरूलाई घर छाड्ने क्रममा यो घटना भएको हो ।
ब्रह्मपुरी गाउँपालिका–७ मोहनगञ्जमा बसबाट ओर्लने क्रममा सोही विद्यालयमा अध्ययनरत स्थानीय रमेश महतोकी छोरी आशिकालाई बसको पछाडिको चक्काले किचेको थियो।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेकी बालिकालाई तत्काल उपचारका लागि बयलबासस्थित जीवन नारायण अस्पताल लगिएको थियो । तर, अस्पतालले उनलाई साँझ ४ः४० बजे मृत घोषणा गरेको थियो ।
उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ। घटनालगत्तै बस चालक भने फरार भएका छन् । उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट दुर्घटनाग्रस्त बसलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । घटनाको अनुसन्धानका लागि नोकेल्वा, भक्तिपुर र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा खटिएको थियो ।