लालबन्दी : वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुई जना सर्लाहीका रहेका छन् । सर्लाही चक्रघट्टा घर भएका ३४ वर्षीय सत्येन्द्र अधिकारी र विष्णु गाउँपालिका – ७ का ४१ वर्षीय राजनाराण महतो रहेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका–४ घर भएका ३५ वर्षीय सुजन विक र सोलुखुम्बु घर भएका २६ वर्षीय नवीन खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
सुजन विकले जापान पठाउँछु भनेर ८ लाख ५० हजार ठगेको अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए । सतेन्द्रले ९० हजार र नवीन खड्काले ३ लाख ठगी गरेको आरोप छ । कुवेत पठाउँछु भनेका राज नारायण महतोले भने २ लाख ५० हजार ठगेको भेटिएको प्रहरीले जनाएको छ ।
आरोपीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको एसपी जिसीले बताए ।