लालबन्दी : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी विधेयक फिर्ता नलिइए जनविद्रोह गर्ने चेतावनी दिएका छन् ।
सप्तरीको राजविराजमा जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनलाई बुधबार उद्घाटन गर्दै अध्यक्ष यादवले भने– ‘वर्तमान सरकारले मधेस विरोधी भूमि विधेयक जबरजस्ती लाद्न खोजिए मधेसी जनता आफ्नो अस्तित्व र पहिचानको रक्षाका लागि जनविद्रोह गर्न बाध्य हुनेछन् ।’
वन विनाश, चूरे उत्खनन् तथा पहाडका बासिन्दालाई मधेसमा भू–माफियाहरूलाई अवैध बसोबास गराउन सरकार षड्यन्त्रमा लागेकोले जनतालाई सचेत रहन उनले आग्रह गरेका हुन् ।
सरकारको गलत नीतिका कारण मधेस मरूभूमिकरणतर्फ उन्मुख भएको आरोप लगाउँदै उनले मधेसमा पानीको हाहाकार रहेको तथा अन्नदाता नै सङ्कटमा परेकोले बजेट संशोधन गरी वर्तमान समस्या समाधान गर्न आग्रह गरेका छन् ।
पानीको जलस्तर घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै जसपा अध्यक्ष यादवले भने ‘जमिनको सतहमा पानी कायम राख्नुको मूल आधार नै चुरे हो, बसोबासको नाममा वन फडानी गरी बसोबास चुरेको संरक्षण नगरिए मधेसको भूमि मरुभूमि हुनेछ ।’
जनसङ्ख्याको आधारमा बजेट ल्याउन माग गर्दै उनले भने ‘४० प्रतिशत जनसङ्ख्यालाई ८९ प्रतिशत र मधेसको ६० प्रतिशत जनतालाई मात्र ११ प्रतिशत बजेट विनियोजन गरिन्छ, यो भन्दा ठुलो विभेद के हुनसक्छ ।’
जबरजस्ती लादिएको संविधानले देशको हित नहुने भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले गलत संविधानकै कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र जस्तो शासन व्यवस्था पनि बदनाम भएको दाबी गरे ।