लालबन्दीबाट पाँच किलो गाँजासहित युवक पक्राउ, अर्का फरार

लालबन्दी : सर्लाहीको लालबन्दीबाट प्रहरीले पाँच किलोभन्दा बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ भने अर्का एक व्यक्ति फरार भएका छन् ।

लालबन्दी नगरपालिका-१५ स्थित बोहोरे डाँडामा मंगलबार अपराह्न प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

अस्थायी प्रहरी पोस्ट परवानीपुरबाट प्रहरी सहायक निरीक्षक दशरथ प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले नियमित सुरक्षा चेकजाँचका क्रममा कालिन्जोरबाट परवानीपुरतर्फ आउँदै गरेको बाप्र०२-०३२ प ५९१२ नम्बरको आर वान फाइभ मोटरसाइकललाई प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा प्रहरीलाई देख्नासाथ मोटरसाइकलको पछाडि सवार व्यक्ति हाम फालेर भागेका थिए ।

तत्कालै प्रहरीले मोटरसाइकल चालक लालबन्दी नगरपालिका-१४ बस्ने २१ वर्षीय सञ्जित घिसिङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घिसिङले पछाडि बोकेको झोला खानतलासी गर्दा रातो प्लास्टिकमा बेरिएको अवस्थामा १ पोका गाँजा फेला परेको थियो ।

उक्त गाँजालाई प्लास्टिकसहित तौल गर्दा ५ किलो ३३० ग्राम रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका घिसिङ, बरामद गाँजा र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको छ । फरार अर्का व्यक्तिको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

सबै