बागमती : विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापासहितले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गरेपछि उनको बायोपिक फिल्म ‘मेयर’को भविष्य अन्योलग्रस्त बनेको छ ।
फागुन २ गते निर्देशक दीपेन्द्र के खनालले शीर्ष भूमिकामा खगेन्द्र लामिछानेलाई लिएर फिल्म छायांकन गरेका थिए । छायांकन सकिएर पनि यो फिल्म पोस्ट प्रोडक्सनको चरणमा थियो ।
निर्देशक खनाल त्यसपछि ‘हरिबहादुरको जुत्ता’मा ब्यस्त रहे । उनी यतिबेला अर्को बायोपिक फिल्म ‘क्याप्टेन साब’को छायांकनमा ब्यस्त छन् ।
मेयर’को निर्मातामा सागर मैनाली र अरविसा थापा रहेको बताइएको थियो । जसको जीवनमाथि फिल्म बनेको छ, सोही व्यक्तिलाई भ्रष्टाचार मुद्दामा दोषी ठहरपछि फिल्मको निर्माण पक्षले प्रतिक्रिया दिएको छैन ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले ३० करोड २९ लाख ३४ हजार ९७ रुपैयाँ बराबरको नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गरेको हो ।
अदालतले १ वर्ष कैद सजाय र बिगो माग बमोजिमको ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना तोकेको छ ।
अदालतले मेयर थापा र उनको परिवारको आय र व्ययको विश्लेषण गर्दा आयभन्दा व्यय ३ करोड ४५ लाख २२ हजार ३ सय ८७ रुपैयाँ बढी देखिएको फैसला गरेको छ ।
विशेषले सजाय सुनाउन आगामी साउन २९ गतेका लागि पेसी तोकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो दुई वर्षयता सर्लाहीको बागमती नगरपालिका–४ र १२ मा निर्मित माछापोखरी (भरत ताल) माथि सिलसिलेवार अनुसन्धान गरेको थियो ।
सो क्रममा ताल निर्माण गर्दा सिलसिलाबद्ध रुपमा भ्रष्टाचार भएको भनी तीनवटा मुद्दा दायर भएको थियो । -अनलाइन खबरबाट