लालबन्दी : सर्लाही प्रहरीले २० किलो भन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
बिहीबार साँझ करिब ४ बजेको समयमा प्राप्त विशेष सूचनाको आधारमा हरिपुर्वा नगरपालिका–५ स्थित रुपेश साहको पक्की घरमा खानतलासी गरिएको थियो ।
प्रहरी चौकी हरिपुर्वाबाट असई शेख हफ्जुल्लाहको कमाण्डमा ४ जना, जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट इन्स्पेक्टर रविन्द्र कार्कीको कमाण्डमा ११ जना तथा इलाका प्रहरी कार्यालय केशरगंजबाट इन्स्पेक्टर उमाकान्त जोशीको कमाण्डमा ११ जना सहितको संयुक्त टोली खटिएर खानतलासी गरेको थियो ।
खानतलासीको क्रममा घरको छतमा लुकाई छिपाई राखिएको करिब २० किलो ३४० ग्राम लागुऔषध गाँजा फेला परेपछि सो घरधनी ४५ वर्षीय रुपेश साह र उनकी श्रीमती ३५ वर्षीया प्रतिमा कुमारी साहलाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरी प्रवक्ता सरोज कुमार राईले बताए ।
पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ ।