लालबन्दी : उखु उत्पादक महासंघ नेपालले गत आ.व. ०८१/०८२ को उखुको बक्यौता अनुदान रकम प्रति क्विन्टल रु ७० का दरले भुक्तानी गर्न माग गर्दै आज देखी माइतीघरमा आन्दोलन सुरु गरेको छ।
किसानहरू उखु नै बोकेर सडकमा धर्ना बसेका छन्। उखु किसान महासंघका केन्द्रीय अध्यक्ष श्याम रायले सरकारले बजेटमा प्रति क्विन्टल ७० रुपैयाँ अनुदानको व्यवस्था नराखेपछि आन्दोलन गर्नुपरेको बताए ।
अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू माइतीघर मण्डलामा भेला भएका छन्। अहिले सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी लगायत क्षेत्रका करिब ६ सय किसान काठमाडौँ गएका छन् ।
आफ्ना माग पूरा गराउन किसानहरूले काठमाडौँमा सात दिने आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
सरकारले उखुको मूल्य प्रति क्विन्टल ६५५ रुपैयाँ तोकेको थियो, जसमा ५८५ रुपैयाँ उद्योगीले र ७० रुपैयाँ सरकारले अनुदान दिने सहमति थियो । तर, नयाँ बजेटमा अनुदानको व्यवस्था घटाइएपछि किसानहरू आक्रोशित भएका हुन् । चालु आवमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदानबाट ३५ रुपैयाँमा झारेको छ ।
यस्तैगत वर्ष देशभर भएको उखु क्रसिङको हिसाबमा सरकारले दिनुपर्ने एक अर्ब ६० करोड रुपैयाँ अनुदान किसानले अझै पाउन बाँकी रहेको अध्यक्ष रायले बताए ।