सोनबरसा सवारी दुर्घटना : सर्लाहीका युवकको मृत्यु

सोनबरसा, भारत : भारतको बिहार राज्य अन्तर्गत सर्लाहीको भारतीय सिमावर्ती बजार सोनबरसा राम जानकी पोखर चौकस्थित बुधबार दिउँसो भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाहीको मलंगवा नगरपालिका वडा न–१० निवासी दिपेन्द्र राउतका छोरा अजय पटेल र भारत परिहारको खुरसाहा निवासी विनय पटेलका छोरा सचिन कुमार पटेल रहेका छन्।

सोनवर्षा थानाले दिएको जानकारी अनुसार, यो दुर्घटना नेपाल-भारत सीमा स्तम्भ नम्बर ३२३/१३ देखि करिब ५०० मिटर भारततर्फ रामजानकी मन्दिर नजिक भएको हो।

म.प्र. ०२ ००८प ९९४२ नम्बरको नेपाली मोटरसाइकल र बि.आर ०९ जि.बि ६७१५ नम्बरको भारतीय डम्पर (टिपर) एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे स्थानीयले सोनवर्षा प्रहरी चौकीलाई जानकारी गराएका थिए। घटनास्थलमा पुगेका प्रहरीले शवलाई पोष्टमार्टमका लागि एम्बुलेन्समार्फत सीतामढी सदर अस्पताल लैजाने तयारी गर्दा स्थानीयवासीहरूले आक्रोश व्यक्त गर्दै सडकमा शव राखी केही बेर सडक अवरुद्ध गरेका थिए।

दुर्घटनामा संलग्न दुबै सवारीसाधनलाई प्रहरी चौकी सोनवर्षामा राखिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै