लालबन्दी । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र सुदन गुरुङविरुद्ध आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा देशका विभिन्न प्रहरी कार्यालयमा जाहेरी पर्ने क्रम जारी छ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघ नेपालले काठमाडौँसहित सर्लाही र रौतहटमा समेत जाहेरी दिएका छन्।
आजै अनेरास्ववियु र युवा संघ नेपालका नेताहरूले जिल्ला प्रहरी कार्यालय सर्लाहीको मलङ्गवामा पुगेर प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालाई जाहेरी निवेदन हस्तान्तरण गरेका छन्।
सो जाहेरीमा बालेन्द्र शाह र सुदन गुरुङले राष्ट्रिय सम्पदा, भवन, अन्य संरचना तथा सरकारी कार्यालयका सामान र कागजातहरू लुटपाट गरी चल–अचल सम्पत्ति नष्ट गरेको तथा उक्त कार्य गर्न विभिन्न व्यक्तिलाई उक्साएर कानुन विपरीत कार्य गरेको उल्लेख छ।
सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जाहेरी प्राप्त भएको पुष्टि गर्दै केन्द्रीय प्रहरी कार्यालयको निर्देशन अनुसार जाहेरीउपर कारबाही अघि बढ्ने जानकारी दिएका छन्।
यसअघि जिल्ला प्रहरी परिसर काठमाडौँमा पनि बालेन र सुदनविरुद्ध जाहेरी परेको थियो। यसैगरी, आजै छिमेकी जिल्ला रौतहटमा पनि एमाले निकट युवा संघले उनीहरूविरुद्ध जाहेरी हालेको छ।