मलंगवा । सर्लाहीमा मतदाता नामावली दर्ता अभियानसँगै ५ हजार ६ सय भन्दा बढी नयाँ मतदाता थपिएका छन् । असोज १२ गतेदेखि सुरु भएको दर्ता प्रक्रिया आज आइतबारसम्म भए पनि सरकारले पाँच दिन थपेको छ ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख शिव नारायण साहका अनुसार यो अवधिमा ५ हजार ६ सय १३ जना नागरिकले आफ्नो नाम नामावलीमा दर्ता गराएका छन् । नयाँ दर्ता मतदातामध्ये ३ हजार २ सय ८९ पुरुष र २ हजार ३ सय २४ महिला रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने भएकाले निर्वाचन आयोगले देशभर मतदाता नामावली संकलन तीव्र पारेको छ । सर्लाहीमा समेत केही दिन दैनिक सयौँ सेवाग्राही दर्ताका लागि कार्यालय धाउने गरेका थिए ।
यता, राष्ट्रिय परिचयपत्र भएकाले घरमै बसेर अनलाइनबाट नाम दर्ता गर्न मिल्ने सुविधा सुरु भएपछि कार्यालयमा भिड क्रमशः घट्न थालेको कार्यालयले जनाएको छ । बायोमेट्रिककै आधारमा अनलाइन दर्ता स्वीकृत हुने प्रणाली लागू गरिएको छ ।
अनलाइनबाट पठाइएको फाराम जिल्ला निर्वाचन कार्यालयले एक दुई दिनमै एप्रुभ गर्ने र सेवाग्राहीको मोबाइलमा म्यासेज आउने व्यवस्था मिलाइएको प्रमुख साहको भनाइ छ ।
निर्वाचन घोषणा हुनु अघिसम्म सर्लाहीमा ४ लाख ९० हजार ४ मतदाता दर्ता थिए । दर्तामा बढ्दो सहभागिता देखिएको भन्दै निर्वाचन आयोगले म्याद थप गर्दै मंसिर ५ गतेसम्म कार्यालयमा उपस्थित भएर वा अनलाइनमार्फत नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।