सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका वडा नं २ संग्रामपुरबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक २८ गते दिउँसो करिब साढे ३ बजे विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्य, जिल्ला सीतामढी, थाना सोनवर्षा, ग्रामपंचायत कोबरवा बस्ने नसरुदिन शेखका छोरा २२ वर्षीय तशिफ शेख र सोही जिल्लाको बेला पंचायत, लहुरिया वडा नं १० खुर्साहा टोल बस्ने समद शेखका छोरा १९ वर्षीय फरहान राजा रहेका छन् ।
प्रहरीका अनुसार, तशिफ शेखले लगाएको अण्डरवेयरभित्र लुकाई राखेको अवस्थामा झण्डै १२ ग्राम खैरो हिरोइनजस्तो देखिने लागुऔषध बरामद भएको थियो । उनीहरूको साथबाट पोक्को र रियलमी कम्पनीका २ थान मोबाइल फोनसमेत बरामद गरिएको छ ।
पक्राउ परेका दुवैलाई कात्तिक ३० गते सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।