लालबन्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले अब नेता तथा कार्यकर्ताले माओवादी, एकीकृत समाजवादीजस्ता पुराना पार्टीको नाम बिर्सेर एकीकृत नेपाली कम्युनिस्ट पार्टीलाई नै अगाडि बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।
सर्लाहीको लालबन्दीमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा उनले समाजवाद, न्याय र सम्मानको व्यवस्था स्थापना गर्ने लक्ष्यसहित ११ राजनीतिक घटक एकीकृत भएर नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन भएको स्मरण गराउँदै एकतापछि जिल्लामा पहिलोपटक औपचारिक कार्यक्रम सम्पन्न भएको बताए ।
सहसंयोजक नेपालले आगामी मंसिर २० गते प्रदेश राजधानी जनकपुरमा आयोजना गरिएको बृहत् सन्देशसभालाई सफल बनाउन सबै नेता–कार्यकर्तालाई सक्रिय बन्न निर्देशन दिए । उनका अनुसार जनताको चाहना पूरा गर्ने उद्देश्यले एकीकृत पार्टी निर्माण गरिएको हो ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले नौजवान, युवा र महिलालाई अझ सशक्त रुपमा अगाडि बढाउन पार्टी जिम्मेवार रहने बताए । साथै उनले नेता–कार्यकर्तालाई जनतामाझ गएर समस्या सुन्ने र समाधानमा जुट्न पनि आह्वान गरे ।