लालबन्दी । सर्लाहीमा शरिर जलेको अवस्थामा एकजना पुरुष भेटिएका छन् ।
लालबन्दी नगरपालिका वडा नम्बर–७ स्थित डुमडुमे मन्दिर नजिकै पुरुष जलेको अवस्थामा भेटिएका हुन् ।
करिब ५५ वर्षीय पुरुषले आफैँले पेट्रोल छर्केर आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । उनको पहिचान खुलेको छैन । घाइते अवस्थामा भेटिएका उनलाई उपचारको लागी जनकपुर स्थित प्रादेशिक अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर बिरेन्द्र जोहारीले बताए ।
महेन्द्र राजमार्गको किनारमा पेट्रोल छर्किनुअघि उनले नजिकै रहेको आश्रममा खाना खाएर निस्केको स्थानियले प्रहरीलाई जानकारी गराएका छन् । आश्रमबाट निस्केपछि डुमडुमे मन्दिर नजिक उनले आफैँलाई आगो लगाएको बताइएको छ ।