लालबन्दी । नेकपा एमाले सर्लाहीले आगामी महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया सम्पन्न गरेको छ। सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट खुला, महिला, युवा र दलिततर्फका प्रतिनिधि सर्वसम्मत चयन भएका हुन्। पार्टीले लामो छलफलपछि आकांक्षीबिच सहमति जुटाएको जनाएको छ।
चयन गरिएका प्रतिनिधिहरूमध्ये चर्चित अधिवक्ता राधिका खतिवडादेखि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका एमालेका मधेश प्रदेश पूर्वसहसंयोजक रेवती पन्तसमेत छन्, जसले सर्वसम्मत चयन प्रक्रियामाथि प्रश्नचिह्न खडा गरेको छ ।
अधिवक्ता खतिवडा सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट महिला क्लस्टरबाट प्रतिनिधि बनेकी हुन् । उनी आर्थिक अवस्था कमजोर भएका पीडितहरूको पक्षमा वकालत गरेर चर्चामा आएकी थिइन् ।
को हुन् रेवती पन्त ?
निर्वाचन क्षेत्र नम्बर ३ बाट खुला क्लस्टरबाट प्रतिनिधि बन्न सफल भएका रेवती पन्त विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् ।
२०८१ असारमा विशेष अदालतले सर्लाहीको लालबन्दीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा पन्तसहित ५ जनालाई दोषी ठहर गरेको थियो ।
प्रतिष्ठानको नाममा सरकारबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्च भइसक्दासमेत कामको प्रगति शून्य देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको थियो ।

अख्तियारले २०८० असोज २१ गते मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार र सर्लाही लालबन्दी नगरपालिकाका पूर्वमेयर मानबहादुर खड्काविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।
पन्त उक्त प्रतिष्ठानका अध्यक्ष थिए। प्रतिष्ठानको उद्देश्य लालबन्दी नगरपालिकासँगको सहकार्यमा विषालु सर्पको टोकाइमा प्रयोग हुने एन्टी स्नेक भेनम उत्पादन गर्ने तथा अनुसन्धान केन्द्र सञ्चालन गर्नु थियो ।
विशेष अदालतले पन्तलाई ८ वर्ष कैद र २ करोड ३५ लाख २९ हजार ३ सय ६८ रुपैयाँ असुल गर्न आदेश दिएको छ ।
पन्त २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर १ र ३ दुवै ठाउँबाट टिकटका लागि सिफारिस भए पनि कतैबाट पनि अवसर पाएनन् ।
जनताबाट अहिलेसम्म निर्वाचित हुन नसके पनि उनलाई कार्यकर्तालाई पार्टीमा टिकाइराख्न सक्ने खुबी भएको नेताका रूपमा लिइन्छ । यद्यपि, उनको अस्वाभाविक जीवनशैलीका कारण जिल्लाभित्र आलोचना पनि हुँदै आएको छ ।