बागमतीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बागमती । सर्लाहीको बागमती नगरपालिका–४, जिरायत चोकमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

बोलेरो पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बागमती नगरपालिका–१२ बस्ने ३२ वर्षीय साने मगरको मृत्यु भएको हो।

प्रहरीका अनुसार बिहीबार दिउँसो अन्दाजी १:३० बजेको समयमा भरततालबाट जिरायततर्फ जाँदै गरेको ना. ३ च. ९५०० नम्बरको पिकअप गाडीले सोही दिशातर्फ गइरहेको प्र. २–०२–००४ प ३५०८ नम्बरको मोटरसाइकललाई मोड्ने क्रममा ठक्कर दिएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका मगरको टाउको, छाती र दायाँ खुट्टामा चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि बागमती मोडेल अस्पताल कर्मैया लगिएकोमा त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बारास्थित एल एस न्युरो अस्पताल पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकले चेकजाँच गर्दा दिउँसो ३:०२ बजे उनलाई मृत घोषणा गरेको अस्थायी प्रहरी पोष्ट जिरायतले जनाएको छ।

ठक्कर दिने पिकअप गाडी र त्यसका चालक बागमती–४ का ३१ वर्षीय राजु गोलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट जिरायतबाट प्रहरी सहायक निरीक्षक नवकान्त मिश्रको कमाण्डमा खटिएको टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको थियो।

शव अस्पतालमै रहेको र घटनाबारे इलाका प्रहरी कार्यालय हरिवनले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै