लालबन्दी । नेपाली कांग्रेस सर्लाहीका क्षेत्र नम्बर १, २ र ४ मा आगामी संघीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने उद्देश्यले आज छुट्टाछुट्टै स्थानमा क्षेत्रीय बैठक सम्पन्न भएको छ ।
क्षेत्रीय कार्य समिति, संघीय तथा प्रदेश महाधिवेशन प्रतिनिधि र वडा सभापतिहरूको सहभागितामा बृहत् बैठक बसे पनि सबै क्षेत्रमा उम्मेदवार सिफारिसको निष्कर्ष भने निस्कन सकेन । कांग्रेस केन्द्रीय कार्य समितिले सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ एक महिलासहित तीन जनाको नाम, समानुपातिकतर्फ पनि एक महिलासहित तीन जनाको नाम र राष्ट्रिय सभातर्फ एक जनाको नाम सिफारिस गरी पठाउन परिपत्र गरिसकेको छ ।
पार्टीले सोही निर्देशनअनुसार क्षेत्रीय कार्य समितिको अगुवाइमा प्रक्रिया अघि बढाइएको जनाएको छ ।
तर क्षेत्र नम्बर १ को बयलवासमा बसेको बैठकमा आकांक्षीको संख्या अत्यधिक भएपछि कुनै पनि नाम सिफारिस हुन सकेन । क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीका अनुसार प्रत्यक्षतर्फ मात्रै ९–१० जनाबिच दाबी देखिएपछि सहमति जुटाउन कठिन भएको हो । उनले बुधबार पुनः बैठक बसेर निष्कर्ष निकाल्ने प्रयास गरिने बताए ।
यसैबिच मंगलबार बिहान बसेको क्षेत्र नम्बर १ (२) को बैठकले प्रतिनिधिसभा निर्वाचनमा क्षेत्रभित्रकै नेता उम्मेदवार सिफारिस गरिनुपर्ने मागसहित माथिल्लो समितिलाई आग्रह गर्ने निर्णय गरेको क्षेत्रीय सभापति सीताराम दाहालले जानकारी दिए ।
यस्तै क्षेत्र नम्बर २ को मलंगवामा सम्पन्न बैठकबाट पनि उम्मेदवार सिफारिस हुन सकेन । क्षेत्रीय सभापति कौशलकिशोर रायले आकांक्षी धेरै भएकाले तत्काल निर्णय सम्भव नभएको बताए । बैठकले उम्मेदवार सिफारिसको अधिकार क्षेत्रीय कार्य समितिलाई नै दिने निर्णय गरेको र अब समितिको अलग बैठक गरी छिट्टै नाम सिफारिस गरिने उनको भनाइ छ ।
तर क्षेत्र नम्बर ४ को धनकौलमा बसेको बैठकले भने प्रतिनिधिसभा प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिस गरेको छ । बैठकले पार्टीका महामन्त्री गगनकुमार थापा र हालका प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहको नाम सिफारिस गरेको हो । यद्यपि महामन्त्री थापाले चार दिनअघि नै मलंगवामा पत्रकारसँग कुरा गर्दै आफू काठमाडौँ निर्वाचन क्षेत्रबाटै चुनाव लड्ने बताएका थिए ।
तर उनले त्यसो भनिरहेकै अवस्थामा सर्लाही क्षेत्र नम्बर ४ बाट नाम सिफारिस हुनु र पछिल्लो समय उनी निरन्तर विभिन्न बहानामा उक्त क्षेत्रमा पुगेर नेता–कार्यकर्तासँग भेटघाट गरिरहेकाले सर्लाहीबाटै चुनाव लड्न सक्ने अनुमान पनि कांग्रेस वृत्तमा सुरु भएको छ ।
कांग्रेस क्षेत्र नम्बर ३ को बैठक भने स्थगित भएको छ । कांग्रेस सर्लाहीका जिल्ला सचिव निरज कार्कीका अनुसार क्षेत्रीय सभापति बिरामी परेकाले आज अन्य क्षेत्रसँगै ३ नम्बर क्षेत्रमा बैठक बस्न सकेन । उनका अनुसार एक–दुई दिनभित्र बैठक बसेर प्रक्रिया अघि बढाइनेछ ।
कार्कीले क्षेत्रीय तहबाट सिफारिस भएर आएका नामका आधारमा मंसिर २६ गते बस्ने जिल्ला कार्य समितिको बैठकले चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारको नामलाई अन्तिम रूपमा सिफारिस गर्ने बताए ।
मंगलबारका बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका विषयमा पनि छलफल गर्ने एजेन्डा भए पनि उम्मेदवार सिफारिसकै विषय टुंगिन नसक्दा अन्य विषयमा खासै बहस हुन नसकेको कांग्रेस नेताहरूले बताएका छन् ।