ईश्वरपुर । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, पिपलदमारस्थित चुरेवर्ती क्षेत्रमा सुरक्षा निकायले ठुलो परिमाणमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बाँके खोलै खोला हुँदै सिन्धुली नजिकको दुर्गम चुरेवर्ती भूभागमा पुगेका करिब साँढे ३ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती पूर्ण रूपमा नष्ट गरेको जनाएको छ ।
उक्त क्षेत्रमा अन्य कृषि बाली उत्पादन राम्रो नहुने भएकाले स्थानीयले आय-आर्जनका लागि लामो समयदेखि लुकीछिपी गाँजा खेती गर्दै आएको बताइएको छ । यद्यपि, स्थानीयका लागि यो सहज आम्दानीको माध्यम भए पनि नेपालको प्रचलित कानुनले गाँजा खेतीलाई पूर्ण रूपमा अवैधानिक मानेकाले प्रहरीले निरन्तर निगरानीसहित कारबाही जारी राख्दै आएको छ ।
सुरक्षा निकायले सो क्षेत्रका अन्य सम्भावित अवैध खेती तथा आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निगरानी थप कडा गर्ने जनाएको छ ।