मलंगवा । आगामी प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले सर्लाहीका क्षेत्र नं १ र २ मा सर्वसम्मत तथा प्रक्रियागत रूपमा उम्मेदवार सिफारिस प्रक्रिया पूरा गरेको छ ।
यद्यपि, क्षेत्र नं ४ मा भने पार्टीको मापदण्ड विपरीत सिफारिस भएको भन्दै आन्तरिक असन्तुष्टि चुलिएको छ भने क्षेत्र नं ३ मा सिफारिस प्रक्रिया बाँकी रहेको छ ।
क्षेत्रीय सभापति हरिबहादुर लुङ्गेलीका अनुसार क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ प्रत्यक्षतर्फ हरिपुर–७ निवासी रामचन्द्र चौधरी, लालबन्दी–१३ का शम्भुलाल श्रेष्ठ तथा लालबन्दी–१ की मन्दिरा आचार्यको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ भने ईश्वरपुर–८ की सुशीला कार्की र लालबन्दी–२ निवासी इस्किलाल पासवानको नाम सिफारिसमा परेको छ ।
त्यस्तै क्षेत्र नं २ मा क्षेत्रीय सभापति कौशलकिशोर रायले दिएको जानकारीअनुसार प्रत्यक्षतर्फ मलंगवा–८ का जयहरि श्रेष्ठ राजु, ब्रम्हपुरी–३ का सत्यनारायण राउत, कौडेना–२ का डा सरोज कुमार र हरिपुर्वा–८ का धनमन्तरी यादवको नाम सिफारिस गरिएको छ ।
यसै क्षेत्रमा समानुपातिकतर्फ मलंगवा–११ का लक्ष्मण राय र हरिपुर्वा–५ की अनिता देवी यादव सिफारिसमा परेका छन् ।
राष्ट्रिय सभा सदस्यका लागि ईश्वरपुर–१५ का ब्रम्हनारायण चौधरी र मलंगवाकी सहरुल खातुनको नाम प्रस्ताव गरिएको छ ।
यसैबिच सर्लाही क्षेत्र नं ४ मा भने पार्टीको मापदण्ड विपरीत वर्तमान प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको नाम सिफारिस भएपछि कांग्रेसभित्र आन्तरिक असन्तुष्टि तीव्र बनेको छ । पार्टीभित्रको यो विवाद केन्द्रमा समेत पुगेको बताइएको छ ।
उता क्षेत्र नं ३ मा भने उम्मेदवार सिफारिस प्रक्रिया अझै बाँकी छ ।