बरहथवा । नेपाली कांग्रेस सर्लाहीका उपसभापति तथा लौकट गाविस (हाल बरहथवा नगरपालिकाभित्र पर्छ) का पूर्वअध्यक्ष नवीन अधिकारीको हृदयघातका कारण निधन भएको छ ।
अधिकारीको आज दिउँसो ४ बजे काठमाडौँस्थित गंगालाल हृदय रोग केन्द्रमा निधन भएको हो ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य रञ्जित कर्णले जानकारी दिएअनुसार अधिकारीको काठमाडौँको गंगालाल हृदयरोग केन्द्रमा निधन भएको हो । उनी बरहथवा नगरपालिकाका स्थायी बासिन्दा थिए र जिल्लामा कांग्रेसीहरू माझ निकै लोकप्रिय थिए ।
२०२२ सालमा जन्मिएका स्वर्गीय अधिकारीले २०४२ सालमा नेविसंघ सर्लाहीको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी नेपाली कांग्रेसको १२औँ र १३औँ जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित भएका उनी १४औँ अधिवेशनबाट उपसभापतिमा चुनिएका थिए ।
उनको पार्थिव शरीरको आजै राति पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । अधिकारीको निधनले नेपाली कांग्रेस सर्लाहीले एक जुझारु नेता गुमाएको छ ।
अधिकारीका दुई छोरी र श्रीमती छन् ।