लालबन्दी । तराई–मधेश क्षेत्रमा केही दिनदेखि जारी शीतलहर र अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेपछि सलाही जिल्लाका विद्यालयहरूमा जाडो विदा दिन आग्रह गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षा विकास तथा समन्वय इकाइ, सलाहीले जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै विद्यार्थीहरूको स्वास्थ्य, सुरक्षा तथा हितलाई ध्यानमा राखी जाडो विदा दिने सम्बन्धमा आवश्यक निर्णय लिन अनुरोध गरेको हो।
इकाइले पठाएको पत्रमा निरन्तरको चिसो मौसमले विद्यालय जाने बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने तथा नियमित पठनपाठनमा समेत प्रत्यक्ष प्रभाव परिरहेको उल्लेख गरिएको छ। यस्तो प्रतिकूल मौसमका कारण विद्यार्थीहरू बिरामी पर्न सक्ने जोखिम बढेकाले सावधानी अपनाउनुपर्ने जनाइएको छ।
पत्रअनुसार जाडो विदा वार्षिक विदाबाट कट्टा हुने गरी प्रदान गर्न सकिने उल्लेख गरिएको छ। यस विषयमा स्थानीय तहहरूले अवस्था मूल्याङ्कन गरी निर्णय लिनुपर्ने जनाइएको छ।
यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, सलाहीलाई समेत जानकारी गराइएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।
