मलंगवा । सर्लाहीको धनकौल गाउँपालिका–५ पासवान टोलमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
हरिवनस्थित इन्दुशंकर चिनी मिलमा उखु अनलोड गरेर फर्कँदै गरेको ज. १ त. ७०१३ नम्बरको ट्याक्टर नहरमा शनिबार बिहान पल्टिएको थियो।
दुर्घटनामा धनकौल गाउँपालिका–४, महिनाथपुरका ३० वर्षीय चालक अरुण राय यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक डीएसपी निरन्जन भट्टराईले जानकारी दिए।
स्थानीयले बिहान नहरभित्र ट्याक्टर खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुग्दा ट्याक्टरको इन्जिनले च्यापिएर चालकको मृत्यु भइसकेको अवस्थामा फेला परेको थियो। एकान्त ठाउँमा पर्ने गाउँको भित्री सडकमा राति कुन समयमा दुर्घटना भयो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ।
स्थानीयले बिहान सबेरै खेतबारीमा हिँड्ने क्रममा दुर्घटनाबारे थाहा पाएका थिए। घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक चालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।
दुर्घटनामा परेको ट्याक्टर नहरबाट निकालेर इलाका प्रहरी कार्यालय हरकठवामा राखिएको छ।