मलङ्गवा । सर्लाही प्रहरीले मलङ्गवा नगरपालिका–७ का वडाध्यक्ष मो। इशा मिकरानीलाई नागरिकता सम्बन्धी कसूर मुद्दामा आज पक्राउ गरेको छ। यसैबीच, जेनजी आन्दोलनका क्रममा सिन्धुली कारागारबाट फरार भएका एक कैदीलाई पनि प्रहरीले सर्लाहीबाटै नियन्त्रणमा लिएको छ।
वडाध्यक्ष मिकरानी नागरिकता प्रकरणमा मुछिए
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार वडाध्यक्ष मिकरानीले रामविश्वास रायलाई झुठो विवरणको आधारमा नागरिकता दिलाएको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले गत वैशाख २२ गते नै झुठो विवरणमा नागरिकता जारी भएको विषयमा वडाध्यक्ष मिकरानीको संलग्नता रहेकाले पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएको थियो।
वडाध्यक्ष मिकरानीविरुद्ध आजै सर्लाही जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी राईले जानकारी दिए।
जेनजी आन्दोलनका फरार कैदी पक्राउ
प्रहरीले जेनजी आन्दोलनका बेला सिन्धुली कारागारबाट फरार भएका हरिवन नगरपालिका–३, डाबरी बस्ने ३० वर्षीय बिमल भन्ने बिरेन थिङलाई पनि सर्लाहीबाटै पक्राउ गरेको छ। थिङलाई अदालतले लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजाय तोकेपछि सिन्धुली कारागार चलान गरिएको थियो।
जेनजी आन्दोलनका क्रममा सिन्धुली कारागार कार्यालयभित्र कैदीबन्दीहरुले आगजनी र तोडफोड गरी थुप्रै कैदीहरु फरार भएका थिए। फरार भएपछि थिङ डाबरी क्षेत्रमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको नेतृत्वमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका थिङलाई बाँकी कैद भुक्तानका लागि कारागार कार्यालय मलङ्गवाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।