बयलबास । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवासमा रहेको नारायण बहुमुखी क्याम्पसका कम्प्युटर चोरी भएका छन् ।
गएराति अपरिचित व्यक्तिहरूले ११ थान मोनिटर, पाँच थान सीपीयू र सीसीटीभी क्यामेरा चोरी गरेर लगेका क्याम्पस प्रमुख बाबुराम बरालले जानकारी दिए । सोमबार बिहान क्याम्पस सञ्चालनका लागि ढोका खोल्दा चोरी भएको थाहा भएको क्याम्पस प्रमुख बरालले बताए ।
उनका अनुसार ढोका फोडेर सुरुमा सीसी क्यामेराको लाइन काटेर चोरी भएको थियो । क्याम्पसमा विद्यार्थीले अनुसन्धान गरेर बुझाएको विभिन्न वर्षको थेसिससमेत चोर समूहले नष्ट गरेको क्याम्पस प्रशासनले जनाएको छ ।
इलाका प्रहरी कार्यालय केशरगञ्जले क्याम्पसमा चोरी भएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
केशरगन्जका प्रहरी निरीक्षक नितेशकुमार सिंहले शंकास्पद व्यक्तिहरूमाथि निगरानी गरिरहेको बताएका छन् ।