मलंगवा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन आग्रह गरेकाे छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार एक सूचना जारी गर्दै जिल्लाभित्र रहेका सबै इजाजत प्राप्त हातहतियार धनीहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नजिकको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाउन आग्रह गरेको हो।
निर्वाचनको समयमा सुरक्षा संवेदनशीलता बढ्ने भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि हातहतियार बुझाउन भनिएकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीया जानकारी दिए। उनका अनुसार बुझाइएका हातहतियारहरू निर्वाचन प्रक्रिया सम्पन्न भएपछि सम्बन्धित धनीलाई सुरक्षित रूपमा फिर्ता गरिनेछ।
सूचनामा तोकिएको समयसीमाभित्र हातहतियार नबुझाएमा प्रचलित कानुन बमोजिम हातहतियार जफत गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइने चेतावनी समेत दिइएको छ।
