गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

सर्लाही । गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै उत्साहित बनेका छन् । गोलभेँडाको सहरका रूपमा परिचय बनाएको यहाँको हरिवन, लालबन्दी, ईश्वरपुर, बागमतीलगायत स्थानका किसानलाई यतिबेला गोलभेँडा टिप्ने र बजार लैजाने चटारो छ ।

हरिवन नगरपालिका–१ भोक्टेनीका किसान रामबहादुर महतोले गोलभेँडाबाट यसपटक नसोचेको मूल्य पाएको बताए । उनको अनुहारमा यसपटक युद्ध जितेको सिपाहीको जस्तै सन्तुष्टि देखिएको छ । महतोले यस वर्ष तीन बिघा खेतमा गोलभेँडा रोपेका थिए । “१२ कट्ठाको गोलभेँडा सिजनको सुरु असोजबाटै निस्कन सुरु भयो”, उनले भने, “अहिलेसम्म पनि बेचिरहेको छु ।” यस वर्ष गोलभेँडा क्रेटको एक हजार ७०० देखि दुई हजार ७०० रुपैयाँसम्ममा बेचेको उनले सुनाए । अहिलेसम्म १२ कट्ठा खेतबाट महतोले रु आठ लाख बढीको गोलभेँडा बिक्री गरिसकेका छन् ।

अझै एक डेढ लाखको बिक्री हुने उनको अनुमान छ । विगत २० वर्षदेखि गोलभेँडाखेती गर्दै आएका उनले गत वर्ष भने गोलभेँडामा लगानीसमेत डुबेको बताए । अरुको जग्गा भाडामा लिएर लगाएको पाँच बिघा गोलभेँडा टिप्ने पैसासमेत नआएपछि खेतमै ट्र्याक्टर लगाएर जोतेको उनको भनाइ छ ।

यस वर्षजस्तो गोलभेँडाको भाउ उनलाई थाहा भएअनुसार कहिले पाएको थिएन । यस वर्ष गोलभेँडाले पाएको मूल्य ऐतिहासिक रहेको किसानको भनाइ छ । गत वर्ष गोलभेँडाखेतीबाट लागेको झण्डै १० लाख रुपैयाँ ऋण यस वर्षको आम्दानीले लगभग तिरेको उनले सुनाए । “धेरै ऋण तिरिसकेँ, अब थोरै बाँकी छ । अझै गोलभेँडा बेच्न बाँकी छ । यस वर्ष ऋण पूरै तिरिन्छ होला”, महतोले भने ।

गत वर्ष गोलभेँडाको मूल्य नपाएपछि खेतीबाट पछि हटेका धेरै किसान यतिबेला निकै पछुतो मानिरहेका छन् भने गत सिजनको घाटा बिर्सिएर गोलभेँडा रोप्ने अधिकांश किसान निकै खुसी छन् । गत वर्ष सुरुमा निकालेको बाहेक गोलभेँडाले मूल्य नपाउँदा धेरै किसानले गोलभेँडा खेतमै जोत्नुपरेको थियो । त्यही डरले यसपटक धेरै किसानले गोलभेँडा रोप्ने आँट गरेनन् ।

जसले गर्दा बजारमा गोलभेँडाको मागअनुसार उत्पादन नभएको स्थानीय व्यापारी विनोद खड्का बताउँछन् । उनका अनुसार यस वर्ष परेको बेमौसमी वर्षा र गत वर्ष मूल्यमा आएको गिरावटका कारण मूल्यवृद्धिमा सहयोग पुगेको हो ।

यस वर्ष गोलभेँडाले राम्रो मूल्य पाउनु दोस्रो कारण भारतीय गोलभेँडा नेपाली बजार भित्रिन नपाउनु पनि रहेको व्यवसायीको भनाइ छ । विगत वर्षहरूमा यसबेला नेपाली बजारमा भारतीय गोलभेँडा छ्यापछ्याप्ती हुने गरेको थियो । तर, यस वर्ष वर्षात्का कारण खेतीमै क्षति पुगेपछि उतै मागअनुसारको आपूर्ति छैन । त्यसले गर्दा भारतमै गोलभेँडा महँगो भएको व्यवसायी खड्काको भनाइ छ ।

यस घटनाले नेपालको उत्पादनले उपयुक्त मूल्य पाउन भारतीय उत्पादन खुला रूपमा नेपाल भित्रिने परिपाटी बन्द हुनुपर्ने स्पष्ट भएको धेरै किसानको धारणा छ ।

हरिवन नगरपालिका–२ का किसान गिरिराज खरेलका अनुसार विगतमा पनि गोलभेँडाको मूल्य सुरुमा राम्रो रहने गरेको थियो । सिजनको सुरुमा चार हजार क्रेटसम्म किसानले लिने गरेका उनको अनुभव छ । तर, हप्ता दिन नबित्दै चार सय क्रेटमा झर्ने गरेको थियो ।

यसपटक किसानले चार महिनासम्म एकैनासको मूल्यमा गोलभेँडा बेच्न पाएका छन् । अझै केही समय गोलभेँडाको मूल्य यस्तै रहने उनको अनुमान छ । आफूले विगत २९ वर्षदेखि गोलभेँडाखेती गर्दै आएको बताउने खरेलले यतिको राम्रो मूल्य अहिलेसम्म आफूलाई थाहा नभएको बताए ।

हरिवन नगरपालिका–१ का जितेन्द्र महतोले पनि गत वर्ष गोलभेँडा खेतीबाट ऋण बोक्नुपरेको थियो । तर यस वर्ष सबै ऋण तिर्ने उनको योजना छ । तीन बिघा खेतमा गोलभेँडा लगाएका उनले रु सात लाखबराबरको गोलभेँडा बजार पुर्याइसकेका छन् । गोलभेँडाको मूल्य स्थिर रहने मेसो पाएपछि उनले अन्य किसानको गोलभेँडा खेतसमेत हुण्डामा किनेर गोलभेँडा बजार पुर्याइरहेको बताए ।

जिल्लाको उत्तरी क्षेत्र सिँचाइको हिसाबले असुविधा भएका कारण यहाँका किसान तरकारीखेतीमा निर्भर छन् । यहाँ सिँचाइको एकमात्र विकल्प डिपबोरिङ हो । त्यसैले कम सिँचाइले हुने खेती गोलभेँडा, परवल, बोडी, सिमी, काक्रो, करेला, काउली, भान्टा, बन्दा, भिण्डी, खोर्सानीलगायत हरिया तरकारी यहाँ धेरै मात्रामा उत्पादन हुने गरेको छ भने यहाँ उत्पादित तरकारी हरेक दिन लालबन्दीस्थित कृषि थोक बजारमा सङ्कलन गरेर व्यापारीले देशका प्रमुख सहरसम्म पुर्याउने गरेका छन् ।

काठमाडौँ, हेटौँडा, विराटनगर, वीरगन्ज, बुटवललगायत सहरबाट व्यापारी तरकारी लिन सर्लाहीको लालबन्दीसम्म आइपुग्ने गरेका कृषि थोक बजार लालबन्दीका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै