बागमती । सर्लाहीको बागमती नगरपालिकास्थित भरततालको पार्किङ स्थलबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार साँझ दुई जनालाई चोरीको मोटरसाइकलसहित रंगेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नं. १५ बोरडाँडा टोल बस्ने २२ वर्षीय श्यामलाल न्यासुर र सोही ठाउँको देउराली टोल बस्ने २३ वर्षीय मिम कुमार मोक्तान रहेका छन् ।
प्रहरीका अनुसार मिति २०८२।१०।०१ गते साँझ करिब १८:४५ बजेको समयमा बागमती नगरपालिका वडा नं. १२ स्थित भरततालको पार्किङ स्थलमा राखिएको ना ४२ प ८०५६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलको तार काटी चोरी गरेर लैजाँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पछिल्लो समय यस क्षेत्रमा मोटरसाइकल चोरीका घटना बढेको भन्ने स्थानीयको गुनासो र सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो ।
पक्राउ परेकाहरूको साथबाट चोरी गरिएको ना ४२ प ८०५६ नम्बरको मोटरसाइकल र उनीहरूले प्रयोग गरेको बागमती प्रदेश ०२-०४८ प १६५६ नम्बरको अर्को मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।