कौडेना । सर्लाहीमा साँढे सात किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा जिल्लाको कौडेना गाउँपालिका-१ निवासी १९ वर्षीय निलेश मण्डल र चक्रघट्टा गाउँपालिका-३ निवासी ३२ वर्षीय शेष मोफिज रहेका छन्।
उनीहरुलाई मंगलबार दिउँसो मलंगवा नगरपालिका-७ बाट ७ किलो ८०० ग्राम अबैध लागुऔषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
सुखचैना हुँदै शिवसागर चोकतर्फ आउँदै गरेको उनीहरु सवार बिआर ०६ एबी २७२९ नम्बरको होण्डा सिबी साइन मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको हो।
उनीहरुले मोटरसाइकलको सिटमुनि रातो रंगको प्लास्टिकमा लुकाइ छिपाइ राखिएको सिट बराबरको आकारको एक पोका गाँजा फेला परेको हो।
पक्राउ परेका दुवै जनालाई सर्लाही जिल्ला अदालतबाट लागुऔषध मुद्दामा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।