रौतहट । रौतहट प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को असई हुँ भन्दै ठगी गर्दै आएकी एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाही जिल्लाको कबिलासी नगरपालिका–१०, सलेमपुर टोल निवासी निर्मला महतो रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङले जानकारी दिइन्।
प्रहरीका अनुसार महतोले कतै नेहा, कतै निशा तथा कतै पुनम कुमारी नाम प्रयोग गर्दै आफू सीआईबीको असई भएको दाबी गरी विभिन्न व्यक्तिहरूलाई ठगी गर्दै आएकी थिइन्। उनीविरुद्ध रौतहटको चन्द्रपुर नगरपालिकाका सन्तोषबहादुर विश्वकर्मा, विजय साह बनिया, प्रविण साह तथा सर्लाहीका राजेश्वर साहले उजुरी दिएका छन्।
उजुरी अनुसार अटो चलाउने पेशामा रहेका राजेश्वर साहसँग करिब एक वर्षअघि सर्लाहीको नवलपुर बजारमा महतोको चिनजान भएको थियो। महतोले आफू मलङ्गवा भन्सारका कर्मचारीहरूसँग राम्रो सम्बन्ध भएको बताउँदै सस्तोमा भन्सारबाट स्कारपियो गाडी निकालिदिने प्रलोभन देखाएकी थिइन्। पुरुषको नामबाट गाडी निकाल्दा कर बढी लाग्ने भन्दै राजेश्वर साहकी श्रीमतीको सक्कल नागरिकता र ६–७ थान पासपोर्ट साइजको फोटो लिई कर तिर्नुपर्ने बहानामा एक लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरीमा उल्लेख छ।
त्यस्तै, सन्तोषबहादुर विश्वकर्माको ज्वेलर्स पसलबाट उधारोमा खरिद गरिएको सुनचाँदीको गहना वापत दुई लाख ७४ हजार रुपैयाँ, विजय साह बनियासँग घरायसी समस्या देखाउँदै लिएको पाँच लाख रुपैयाँ, प्रविण साहको किराना पसलबाट उधारोमा लिएको सामानको रकम तथा स्कारपियो गाडी भाडामा लगेर बाँकी राखेको एक लाख २६ हजार रुपैयाँ समेत नतिरेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार प्रतिवादीले पुनम कुमारीको नाममा खोलिएको माछापुच्छ्रे बैंक, चन्द्रपुर शाखाको खातामा पर्याप्त रकम मौज्दात नभएको अवस्थामा चेक काटी आफूले पुनम कुमारीको दस्तखत गरी जाहेरवालाहरूलाई दिई ठगी गरेको पाइएको छ।
पक्राउ परेकी महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।