लालबन्दी । सर्लाहीमा राष्ट्र सेवक कर्मचारीमाथि गोली प्रहार गरी हत्या गरिएको घटनाप्रति कर्मचारी संगठनहरूले गम्भीर आपत्ति जनाउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।
गत २०८२ फागुन ३ गते साँझ पर्यावरण विकास कार्यालय, राजविराजमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवलाई घर जाँदै गरेका बेला अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको घटनाप्रति कर्मचारी मिलन केन्द्र सर्लाही तथा जिल्लामा क्रियाशील विभिन्न ट्रेड युनियनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कडा शब्दमा निन्दा गरेका हुन्।
विज्ञप्तिमा जनताको सेवामा अहोरात्र खटिने कर्मचारीमाथि गरिएको आक्रमण अमानवीय र निन्दनीय भएको उल्लेख गरिएको छ। साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। संगठनहरूले यस कठिन समयमा पीडित परिवारको साथमा रहेको जनाएका छन्।
घटनामा संलग्न व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी पक्राउ गर्न, कानुनी दायरामा ल्याई कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन नेपाल सरकारसँग माग गरिएको छ। साथै शहीद घोषणा गर्नसमेत आग्रह गरिएको छ।
आसन्न निर्वाचनको सन्दर्भमा कर्मचारीहरू फिल्ड तथा कार्यालयमा खटिनुपर्ने अवस्था रहेकाले यस्ता घटनाले कर्मचारीहरूको मनोबल खस्किएको विज्ञप्तिमा उल्लेख छ। त्यसैले सम्पूर्ण कर्मचारीको पूर्ण सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।
यस्तै, घटनाको विरोधस्वरूप तथा दोषीलाई कानुनी दायरामा ल्याउन दबाब सिर्जना गर्न २०८२ फागुन ४ गते मंगलबार एक दिन जिल्लाभरका सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारीहरूले सेवा प्रवाह बन्द (पेन डाउन) गर्ने घोषणा गरिएको छ।
संयुक्त विज्ञप्तिमा कर्मचारी मिलन केन्द्र सर्लाही, निजामती कर्मचारी युनियन सर्लाही, राष्ट्रिय कर्मचारी संगठन सर्लाही लगायतका संगठनका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ।
