लालबन्दी । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र राजनीतिक समन्वयलाई तीव्र बनाउने क्रममा युवा नेता युवा नेता दीपक महतोलाई नेपाली कांग्रेस सभापति गगन थापाले विशेष जिम्मेवारी दिएका छन् ।
सभापति थापाद्वारा जारी आधिकारिक पत्रअनुसार महतोलाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि विभिन्न क्षेत्रमा रहेका उम्मेदवारहरूसँग आवश्यक सहकार्य, रणनीतिक पहल तथा चुनावी वातावरण निर्माणको जिम्मेवारी दिइएको हो । साथै, अन्य राजनीतिक धार र वैकल्पिक राजनीतिमा संलग्न व्यक्ति तथा समूहसँग संवाद गरी कांग्रेसको पक्षमा सकारात्मक माहोल सिर्जना गर्नुपर्ने जिम्मेवारीसमेत उनलाई तोकिएको छ ।
पत्रमा महतोको सक्रियता, अनुभव र क्षमताले नेपाली कांग्रेसलाई विजयतर्फ लैजान महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । पार्टी नेतृत्वले उनको योगदानको उच्च मूल्याङ्कन गर्दै भविष्यमा अझ महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरिने संकेत पनि गरेको छ ।
युवा पुस्तामाझ लोकप्रिय तथा संगठन निर्माणमा सक्रिय रहँदै आएका महतोलाई दिइएको यो जिम्मेवारीलाई कांग्रेसभित्र उदाउँदै गरेको युवा नेतृत्वप्रतिको भरोसाको रूपमा हेरिएको छ, यसले पार्टीभित्र नयाँ ऊर्जा थप्ने र निर्वाचनमा सकारात्मक परिणाम ल्याउने अपेक्षा गरिएको छ ।
कांग्रेसले यस प्रकारको जिम्मेवारी हस्तान्तरणमार्फत संगठनलाई थप गतिशील र समावेशी बनाउने नीति लिएको देखिन्छ, जसले आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउने विश्वास लिइएको छ ।