मलंगवा । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारमाथि दुर्व्यवहार गरेको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, मलंगवाका अनुसार मिति २०८२ फागुन ६ गते साँझ करिब ७:५० बजे बागमती नगरपालिका–१२ स्थित आनन्द होटलमा जनता समाजवादी पार्टीका प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवार डा. जय प्रकाश यादव खाना खाइरहेको अवस्थामा एक व्यक्तिले गाली–गलौज गर्दै अभद्र व्यवहार गरेका थिए। ती व्यक्तिले हातपातको प्रयाससमेत गरेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले बागमती नगरपालिका–१२ बस्ने ३२ वर्षीय प्रशान्त बाइतालाई पक्राउ गरेको हो। पक्राउ परेका बाइतामाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रशासन कार्यालय, सर्लाहीबाट सात दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय, हरिवनमार्फत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।