होली सुरक्षित बनाउन सर्लाही प्रशासनको कडाइ : विदेशी सवारी र मदिरा बिक्रीमा निषेध

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले होली पर्व र प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै एक अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

कार्यालयले सम्पूर्ण जिल्लावासीहरुमा होलीको शुभकामना व्यक्त गर्दै मर्यादित र सुरक्षित तवरले पर्व मनाउन अपिल गरेको हो।

प्रशासनद्वारा जारी सूचना अनुसार, २०८२ फाल्गुन १९ गते देखि २२ गते सम्म विदेशी नम्बर प्लेटका दुई पाङ्ग्रे, चार पाङ्ग्रे लगायतका कुनै पनि सवारी साधन सञ्चालन गर्न पाइने छैन। यदि कसैले नियमको अवज्ञा गरी त्यस्ता सवारी साधन सञ्चालन गरेको पाइएमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिनेछन्।

यसैगरी, प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मौन अवधिभर मदिराजन्य पदार्थको बिक्री वितरणमा समेत पूर्ण रोक लगाइएको छ। फाल्गुन १९ गते राती १२ बजे देखि फाल्गुन २१ गते राती १२ बजे सम्म मदिराजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने सूचनामा उल्लेख छ।

होली पर्व मनाउने क्रममा कसैले पनि मादक पदार्थ सेवन गरी सवारी चलाउन, चाडपर्वको नाममा कसैको इच्छा विपरीत रङ्ग लगाउन, लोला हान्न, पानी तथा हिलो छ्याप्न, नमेटिने रङ्ग प्रयोग गर्न, जिस्काउन, मादक तथा नशालु पदार्थ जबरजस्ती खुवाउन, डिजे बजाउन र कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न र नगराउन प्रशासनले कडा निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले हस्ताक्षर गरेको सूचनामा सबैलाई सुरक्षाका मापदण्ड अपनाई मर्यादित ढङ्गले हर्षोउल्लासकासाथ होली मनाउन हार्दिक आह्वान गरिएको छ। साथै, शान्ति सुरक्षामा असर पर्ने गरि कुनै पनि अवाञ्छित क्रियाकलाप गरे वा गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा समेत जानकारी गराइएको छ।

सम्बन्धित समाचार

सबै