लालबन्दी । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा सुधारका लागि सञ्चालन गरिएको अभियानमा केही व्यक्तिले नियोजित रूपमा भ्रम फैलाउन खोजेको बताएका छन् ।
मधेस प्रदेशका विभिन्न जिल्लामा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सुझाव सङ्कलन गरिरहेका बेला दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था आएको पोखरेलले फेसबुकमार्फत जानकारी गराएका हुन् ।
सामाजिक सञ्जालमा मन्त्री श्रेष्ठ ‘लखेटिएको’ भनी भाइरल भएका भिडियो र पोस्टहरूका सन्दर्भमा स्पष्टीकरण दिँदै उनले उक्त घटनालाई ‘नियोजित भ्रम’ को संज्ञा दिए ।
सिरहा र सप्तरीमा भएको कार्यक्रममा दुई व्यक्तिले अवरोध सिर्जना गरेको र उक्त भिडियो क्लिपलाई आधार बनाएर घटनाको सन्दर्भ नै बङ्ग्याउने गरी गलत प्रचार गरिएको मन्त्रीको भनाइ छ ।
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भने, ‘लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ, तर पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन ।’
उक्त घटनापछि पनि आफूहरूले काम नरोकेको मन्त्री पोखरेलले जानकारी दिएका छन् । सोही दिन सिरहास्थित बहिरा बालबालिका पढ्ने विद्यालय र मदरसामा पुगेर विद्यार्थीसँग प्रत्यक्ष संवाद गरेको उनले फेसबुकमा लेखेका छन् । आज (शनिबार) मात्रै करिब ८–१० वटा विद्यालयमा पुगेर फलदायी सुझाव सङ्कलन गरिएको र भोलि सप्तरीबाट मोरङतर्फ लाग्ने कार्यक्रम रहेको उनले उल्लेख गरेका छन् ।
मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र शिक्षा क्षेत्रमा भइरहेका सकारात्मक काम देखेर केही पक्ष असन्तुष्ट हुनु स्वाभाविक भएको मन्त्री पोखरेलको टिप्पणी छ । उहाँले लेखेका छन्, ‘हामी यहाँ राजनीतिक स्टन्ट वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएका हौँ । हल्लाभन्दा काम ठुलो हो ।’