सर्लाहीमा विद्यालय पछाडिको पोखरीमा डुबेर १० वर्षीय बालकको मृत्यु

मलंगवा : सर्लाहीमा पोखरीमा डुबेर १० वर्षीय एक बालकको मृत्यु भएको छ।

जिल्लाको विष्णु गाउँपालिका-१ बेलवा टोलमा पोखरीको पानीमा डुबेर एक बालकको मृत्यु भएको हो।

रन्जित राउतका छोरा १० वर्षीय बादल राउतको घर नजिक प्राथमिक विद्यालय बाराउद्योरणको पछाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

हिजो दिउँसो ३ बजेतिर पोखरीमा डुबेका बालकलाई उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो। त्यहाँ सामान्य उपचार गरी प्रादेशिक अस्पताल मलगंवामा थप उपचारका लागि लगिए पनि बालकलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

बालकको शव सोही अस्पतालमा पोष्टमार्टमपछि परिवारले बुझेका छन्।

सम्बन्धित समाचार

सबै