सिरहाः पूर्वपश्चिम हुलाकी सडकअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला पुल १३ वर्षसम्म पनि नबनेपछि संघर्ष समितिले मुख्यमन्त्री सतिशकुमार सिंहलाई एकहप्ते अल्टिमेटमसहित एकसूत्रीय ज्ञापन पत्र बुझाएका छन्
एक हप्ताभित्र नयाँ पुल निर्माण थालनीको माग गर्दै मधेशका मुख्यमन्त्रीलाई हुलाकी सडक कमला पुल निर्माण संघर्ष समितिले आइतबार ज्ञापनपत्र बुझाएको हो।
आफूहरूको माग सम्बोधन नभए मुख्यमन्त्री कार्यालयअगाडि भदौ ४ देखि सामूहिक आमरण अनशन बस्ने उनीहरूले चेतावनी दिएका छन्। ज्ञापनपत्रमा केन्द्रसम्म मधेश र मधेशीको आवाज नपुग्ने भन्दै संघीयता आएको नौ वर्ष बित्दासमेत एउटा पुलका लागि केन्द्र जानुपरे प्रदेश रहनुको औचित्य के छ भन्ने प्रश्न उठाइएको छ।
मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिन आइतबार बिहान ८ बजे संघर्ष समितिका संयोजक इन्जिनियर प्रवीण यादवको नेतृत्वमा पूर्वमन्त्री रामचन्द्र झा, राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता रामरिझन यादव, प्रदेश सांसद प्रमोदकुमार यादव, नेता लाल गोइतलगायत सयौँको संख्यामा युवा, किसान, बुद्धिजीवीहरू कमला पुल अंकित झन्डासहित मोटरसाइकल र्याली गरेर जनकपुर पुगेका थिए।
निर्माणको अन्तिम काम चलिरहेका बेला २०७८ सालमा आएको बाढीले भत्काएपछि पुनः निर्माणको काम सुस्त भएको थियो। पुल भासिएको करिब डेढ वर्षपछि पछिल्लो माघदेखि पूर्वतर्फ थालिएको पुनःनिर्माणको काम गत १ असारदेखि स्थगित छ।